बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

Posted on: 11 Jan, 2024

पुस २६, काठमाडौँ | कक्षा ५ सम्म पढेका रामबहादुर बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ। पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो। उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए।


‘कसैलाई बलात्कार गरेको छैन। यौन दुराचार गरेको आरोप सरासर गलत हो। मेरो आश्रममा कोही बेपत्ता भएका छैनन्। यहाँले बेपत्ता भएका जसको नाम लिनुभयो, उनीहरूको जिम्मा म कसरी लिन सक्छु ? संसारमा दैनिक हजारौँ मान्छे बेपत्ता भएका होलान्, ती सबैको जिम्मा म लिन सक्छु ?’ उनको प्रतिप्रश्न थियो।

सोधपुछका क्रममा निर्धक्क देखिएका बम्जनले आफूलाई प्रहरीले खोजिरहेको थाहा नै नभएको बताए। ‘प्रहरीले खोजिरहेको छ भन्नेबारे थाहै थिएन। थाहा पाएको भए यहाँ हुन्न थिएँ। भागिसकेको हुन्थेँ,’ उनले भने। आफ्नो पछि विधर्मी विदेशी शक्ति लागेको प्रसंग पनि उनले बयानका क्रममा उप्काए।

विदेशी शक्ति आफूलाई बदनाम गराउन लागिपरेको उनको दाबी थियो। ‘म तपस्वी हुँ। मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरेका छन्। उनीहरू मलाई बदनाम गराउन चाहन्छन्। ममाथि लागेका विभिन्न आरोप यसैका उदाहरण हुन्,’ उनले भने। आफूलाई पक्राउ गरेको सम्बन्धमा भने उनले प्रहरीलाई धन्यवाद दिए। पक्राउपछि आफ्नो कुरा राख्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!