रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली अलपत्र

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौं | वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित 'द ब्लु सी ट्रेडिङ को डब्लुएलएल' कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन् ।

कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन् । कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन् ।

पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यू एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेशीने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ । कमाउन विदेशीने सबै सफल हुन्छन् भन्ने छैन । कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन् । 

नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रूपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन् । म्यानपावर कम्पनीहरूले कुवेतको राम्रो कम्पनी भनेर पठाए पनि मासिक १५÷२० हजार कमाउनसमेत हम्मेहम्मे परेको पीडितले बताए। काम पाएको बेलामा मासिक १२ देखि १८ हजार रूपैयाँसम्म मात्र कमाएको तर पछि त्यही काम पनि नपाएको पीडितले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!