भन्सार कार्यालयबाट चोरी भएको नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

Posted on: 02 Sep, 2023

भदौ १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् । 

फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्‍याइएको थियो । भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट ( विद्युतीय चुरोट ) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए । 'ठुलै धनराशि खर्चेर सो सुन उनले हात हात पारेका रहेछन् । सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई ६५ लाख दिइएको रहेछ । त्यसमा अन्य खर्चसहित  करिब २ करोड लागेको रहेछ,' स्रोतले भन्यो । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!