दुई दिनमा फिल्म ‘डिग्री माइला’को कमाई कति ?

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं । नयाँ वर्ष २०८१ को साइत पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठले दुई दिनमा फिल्मले ३ करोड ६ लाख कमाई गरेको दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ ।

फिल्मको हाइपअनुसार डेढ करोडको ओपनिङ प्रक्षेपण गरिएको थियो । तर, बिहानी शोज अपेक्षाकृत हुन नसक्दा ओपनिङ केही प्रभावित बन्यो । दोस्रो दिन (शनिबार) नयाँ वर्ष परेकाले व्यापारमा उछाल देखियो । ‘वर्ड अफ माउथ’ राम्रो प्राप्त भएकाले आगामी दिनमा पनि फिल्मको व्यापार उत्साहप्रद रहने निर्माण टिमको विश्वास छ । आइतबार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।


फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । शनिबार बिग मुभिजमा फिल्म हेरेका एक युवा दर्शकले भनेका थिए, ‘फिल्मले समाजको यथार्थलाई राम्रोसँग देखाएको छ । र, ग्रामीण क्षेत्रको शैक्षिक अवस्था कस्तो छ भन्ने पनि देखाउँछ । सन्देशसँगै फिल्म हेर्दा रमाइलो भयो ।’ कतिपय दर्शकले ‘क्लाइमेक्स’ अधुरो लागेको भन्दै सिक्वेलको माग गरेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, सुष्मा गुरुङ र मधु मिजार छन् भने कार्यकारी निर्माता भने क्रिश लामा हुन् । शिवराम श्रेष्ठ र राइली एस शिनले फिल्मको छायांकन गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!