गृहमन्त्रीलाई स्पष्टीकरण दिन कांग्रेसले रोक्न मिल्दैन: एमाले

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ। एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसद्‌बाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बताए।


कांग्रेसले मंगलबार गृहमन्त्रीमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो। एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसद्‌बाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने उल्लेख गरे। उनले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने जिकिर गरे।

बर्तौलाले भने, ‘भोलि त फेरि पनि बैठक छ। भोलिको बैठक पनि यही अवस्था हुने खतरा छ। प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने, देशमा डढेलो लागिरहेको छ। शान्ति सुरक्षाको कुरा छ। कतिपय जिल्लामा कर्फ्युको अवस्था छ। त्यो बारेमा बताउन खोज्दा गृहमन्त्रीका कुरा सुन्नुपर्छ। उहाँसँग प्रश्न छन् भने त्यो सुन्ने धैर्यता राखौं। लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन। आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिहरुले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले जनसरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानुनहरु निर्माण गर्नुपर्नेमा संसद् अवरुद्ध गरेर गल्ती गरेको दोहोर्‍याए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!