छविलाल जोशीलाई हिरासतमा राख्न ७ दिनको म्याद, चेकजाँच गर्न अस्पताल लगियो

Posted on: 27 Sep, 2024

असोज ११, काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएको आरोपमा पक्राउ परेका पूर्व डिआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राख्न म्याद दिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार जोशीलाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो। काठमाडौँबाट आइतबार पक्राउ परेका जोशीलाई राति नै पोखरा ल्याइएको थियो। सोमबार अदालतले उनलाई ५ दिन थुनामा राख्न आदेश दिएको थियो, जसका क्रममा दुई दिन मात्र बयान लिइएको थियो।


जोशीले स्वास्थ्य समस्या देखाउँदै थप बयान दिन असमर्थ भएको बताएका छन्। एसपी थापाका अनुसार, जोशीलाई ब्रोंकाइटिस भएकोले औषधि सेवनपछि हिरासतमै राखिएको छ।

स्वास्थ्य अवस्था थप जाँचका लागि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। एसपी थापाले अस्पतालमा राख्ने वा फिर्ता ल्याउने निर्णय चिकित्सकको सल्लाहमा हुने बताए।

यो प्रकरणमा अनुसन्धान जारी रहँदा पूर्व डिआईजी जोशीको स्वास्थ्य स्थितिको कारणले अनुसन्धान प्रक्रिया केही ढिलो भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!