प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Posted on: 17 May, 2024

जेठ ४, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  

हिजोको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपछि  बैठकमा धकेलाधकेल भएको थियो ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यो एजेन्डामा दलहरूबिच सहमति नजुटेकोले आजको बैठक पनि सुचारु हुनेमा आशङ्का कायमै छ । 

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!