एक सातादेखि सुरुङ भत्किएर भित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

Posted on: 19 Nov, 2023

मंसिर ३, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।

उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म  प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।

बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्सो गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ । अर्थात् तेर्सो र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।

‘अहिले मजदुरहरुलाई बाहिर निकाल्ने काम ठप्पजस्तै छ,’ बीबीसी हिन्दीले लेखेको छ, ‘ठाडो प्वाल पार्दा १०३ मिटर जति गहिरो खन्नुपर्छ र यो निकै जोखिमपूर्ण छ । यदि सबै काम ठिकठाक चलेमा त्यो काम गर्न पनि चार–पाँच दिन लाग्ने अनुमान छ ।’

सुरुङभित्र ७० मिटर लामो पहिरो खसेको अनुमान छ । हालसम्म २४ मिटरसम्म मात्र खनेर पहिरो पन्छाइएको छ ।

सुरुङमा फसेका मजदुरहरुलाई उद्धारका लागि पहिरो पन्छाउन दिल्लीबाट ओगर मेसिन ल्याइएको थियो । त्यसले शुक्रबारदेखि काम गर्न बन्द गरेको छ र इन्दौरबाट अर्को एउटा मेसिन ल्याइएको छ । नयाँ मेसिनले रोकिएको काम अघि बढाउने छ ।

उद्धार प्रयासको दोस्रो विकल्पको खोजी गर्ने क्रममा अधिकारीहरुले पहाड माथिबाट पनि सुरुङमा प्वाल पार्ने प्रयास गरेका छन् । त्यसका लागि पहाडका रुखहरु पन्छाएर मेसिन राखिने छ ।

मजदुरहरुको उद्धार प्रयासका लागि प्रधानमन्त्री कार्यालयबाट विशेषज्ञ र सल्लाहकारहरुको टिम पठाइएको थियो । सो टिमले पहाडको माथिबाट प्वाल पार्ने स्थानको अवलोकन गरेको थियो ।

सुरुङमार्ग निर्माण प्रोजेक्टमा कार्यरत एक अपरेटर मृत्युञ्जय कुमारले बीबीसी हिन्दीसँग कुरा गर्दै सुरुङभित्र फसेकाहरुको मनोबल खस्किँदै गएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले भित्र फसेका मजदुरहरुलाई सम्झाउने कोसिस गर्दछौं । तर अब सात दिन भइसकेको छ र उनीहरुको मनोबल गिर्दै गएको छ । उनीहरु स्वस्थ छन् तर हौसला बिस्तारै बिस्तारै टुटिरहेको छ ।’

सुरुङ भित्र फसेका मजदुरहरुसम्म पाइपको माध्यमबाट अक्सिजन, पानी र सुक्खा खाना पुर्याइए पनि बाहिर निकाल्न भने अझै सकिएको छैन । त्यही पाइपमार्फत् बेलाबेलामा कुराकानी पनि हुने गरेको छ ।

अपरेटर मृत्युञ्जय कुमारका अनुसार मजदुरहरुले हामीलाई निकाल्नका लागि काम भइरहेको छ कि झुठो आश्वासन मात्र दिइएको हो भनेर सोधिरहेका छन् ।

अधिकारीहरुका अनुसार सुरुङमा फसेका मजदुरहरु उत्तराखण्ड, उत्तर प्रदेशको बिहार, पश्चिम बंगाल, झारखण्ड, ओडिसा र हिमाञ्चल प्रदेशका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!