८ महिनामा १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

Posted on: 22 Mar, 2023

चैत ८, काठमाडौं | नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको आयात गर्दा जम्मा १ खर्बको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ। विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो। ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको माघ महिनासम्म नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गरेको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको छ।

जसमा सबैभन्दा बढी २ खर्ब २७ अर्ब ९करोड ४ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। दोस्रोमा १ खर्ब ४ अर्ब ८० करोड ९८ लाख ९ हजार रुपैयाँको फलाम आयात भएको छ।  

यस्तै, ६५ अर्ब ४६ करोड ६९ लाख ४४ हजार रुपैयाँको औद्योगिक मेसिन आयात भएको छ। ६४ अर्ब २२ करोड  २४ लाख ६८ हजार रुपैयाँको तेल-घिउ आयात भएको ४० अर्ब ३९ करोड ८६ लाख ७० हजार रुपैयाँको मोती आयात भएको विभागको तथ्यांकमा छ।

३९ अर्ब ९७ करोड ९४ हजार रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात भएको छ। यस्तै, ३३ अर्ब ९७ करोड ५२ लाख ९१ हजार रुपैयाँको फलफूल र तरकारी आयात गरेको छ। २९ अर्ब  ३२ करोड ३५ लाख ९५ हजार रुपैयाँको औषधिजन्य वस्तु आयात भएको छ।

२७ अर्ब ७५ करोड ९४ लाख ९५ हजार रुपैयाँको मल आयात भएको छ भने ३२ अर्ब ६५ करोड ९८ लाख ७६ हजार रुपैयाँको सवारी साधनका पार्टस् आयात भएको छ। १७ अर्ब ३६ लाख ७८ हजार रुपैयाँको कपडा आयात हुँदा १७ अर्ब ९० करोड ७६ लाख ९ हजार रुपैयाँको निकेल जस्ता तामा, मेटल, आल्मो नियम आयात भएको विभागको तथ्यांकले देखाउँछ। १६ अर्ब ९५ करोड ४ लाख ६ हजार रुपैयाँको सर्जिकल उपकरण आयात गरेको भन्सार विभागले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!