बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

Posted on: 31 Jan, 2022

माघ १७, बैतडी | बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।  

गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिनुभयो । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो । 

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताउनुभयो । जिल्लामा हालसम्म एक लाख ४0 हजार २२५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!