ओमिक्रोन भेरियन्ट पुष्टि भएका ४ जना सम्पर्कबाहिर

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचोकी गाउँपालिका-७ का ४८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका-२ का २९ वर्षीय पुरुष र कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो।

भारतबाट नेपाल फर्केका उनीहरुमा एन्टिजेनबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। नयाँ भेरियन्ट पहिचानको लागि पुस २५ गते १४६ जनाको नमूना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो। जसमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

ओमिक्रोन देखिएकाहरू हाल सम्पर्क बाहिर रहेको पाइएको छ । मन्त्रालयका प्रवक्ता कार्कीले आफूहरूको सम्पर्क बाहिर रहेकोले सम्बन्धित जिल्ला तथा पालिकासँगको समन्वयमा तत्काल सम्पर्कमा ल्याइने र कन्ट्याक्ट ट्रेसिङ गरिने बताए।



यस बिषयमा तपाइको प्रतिक्रिया...!