नेपाल र थाइल्याण्डबीच महामारीविरुद्ध सहकार्य गर्न सहमति

Posted on: 25 Aug, 2021

भदौ ९, काठमाडौँ | नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा आज भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । 

“महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी सम्बन्धका समग्र पक्षबारे जानकारी लिनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे विचार आदानप्रदान गरेका थिए । प्राविधिक सहयोग, व्यापार तथा लगानी, पर्यटन र संस्कृति, शिक्षा तथा जनता–जनताबीचको सम्बन्धबारे पनि बैठकमा विचारविमर्श भएको थियो । 

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र थाइल्याण्डको प्रतिनिधित्व त्यहाँको परराष्ट्र मन्त्रालयका स्थायी सचिव थानी थोङपाक्दीले गर्नुभएको थियो । महामारीविरुद्ध लड्न थाइल्याण्डलले नेपाललाई औषधि एवं उपकरण सहयोग गरेकामा सचिव पौड्यालले थाइल्याडको राजपरिवार, परराष्ट्र मन्त्रालय, भिरापुचोङ प्रतिष्ठान र लुम्बिनीस्थित शाही थाई विहारप्रति नेपाल सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो । 

दुई देशबीचको आर्थिक साझेदारीमा जोड दिँदै परराष्ट्र सचिव पौड्यालले नेपालमा वैदेशिक लगानीको वातावरण बनाउन नेपाल सरकारले शुरु गरेका नीतिगत, कानूनी, संस्थागत एवम् प्रक्रियागत सुधारबारे जानकारी दिनुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विम्स्टेक)मार्फत क्षेत्रीयस्तरमा पनि सहयोग प्रवद्र्धन गर्नेबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए । 

बैठकमा नेपालका तर्फबाट थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकाल, परराष्ट्र, अर्थ, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । थाई प्रतिनिधिमण्डलमा त्यहाँको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सहयोगका लागि थाई नियोगका उच्च अधिकारी सहभागी थिए । संयुक्त आयोगको छैटौँ बैठक दुवै पक्षलाई सहज हुने मितिमा हुनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!