जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

Posted on: 21 Aug, 2021

भदौ ५, काठमाडौँ | जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

१६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको र अब बाँकी खोप पर्सि सोमवारसम्म आइपुग्नेछ । यस्तै अस्ति बुधवार र बिहीवार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको उहाँले जानकारी दिनुभयो । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ ।

देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको महाशाखाले जनाएको छ । अबको खोप प्रदेश-१ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ ।  त्यस्तै बाँकी रहेमा प्राथमिकताका आधारमा दिने सरकारको तयारी छ ।

कोरोना महामारी र सङ्क्रमण घटाउन खोप नै महत्त्वपूर्ण भएको डाक्टर गौतमका भनाइ छ । खोप ल्याउने र लगाउने, परीक्षणको दायरा बढाउने काम भइरहेको तथा स्वास्थ्यका मापदण्ड पालनामा सबैलाई जिम्मेवार बन्न पनि उहाँको सुझाव छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!