'स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ' - गृह मन्त्रालय

Posted on: 28 May, 2021

जेठ १४,  काठमाडौँ | गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कुटपिटमा संलग्न जो कोही भयेपनि कारबाही हुने जनाएको हो । 

बिहीवार बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट गर्दै अस्पताल समेत तोडफोड गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति समेत गठन गरिएको छ । घटना घटाउनेमा नेकपा एमालेका प्रदेश नेता संलग्न रहेकोले राजनीतिक कारणले घटना घटाउनेहरुलाई कारवाही नहुने हो कि भन्दै चौतर्फी आलोचना भएको छ ।

यसै अवस्थामा ग्रिह मन्त्रालयले कोभिड–१९ महामारीको बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय भएको जनाएको छ । मन्त्रालयले छानबिनका क्रममा दोषी पाइएकाहरुलाई कारबाही हुने विज्ञप्तिमा भनिएको छ । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’

यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!