चार्ज गरिरहेको मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु, आमाबुवा घाइते

Posted on: 24 Mar, 2024

एजेन्सी | भारतको मेरठस्थित मोदीपुरममा चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए ।

सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।


प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।

उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।

निहारिका, गोलु र कल्लु मोबाइलमा गेम खेलिरहेको समयमा विस्फोट भएको जोनीले बताएका छन् । चार्जमा जोडेर मोबाइलमा गेम खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!