जमिनमा गाडिएको अवस्थामा टाउको नभएको पुरुषको शव फेला

Posted on: 19 Feb, 2024

फागुन ७, लुम्बिनी | कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ । 

आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए । त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेपछि उनले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएको थियो ।


करिब २५/२६ वर्ष उमेरको भएको अनुमान गरिएको पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब ढाई सय मिटर फरकमा छ । करिब आधी मिटर गहिरो खाल्टो खनेर शव पुरिएको थियो । शरीर र यौनांगका कतिपय भाग जलेको अवस्थामा रहेको छ । पुरुषले सट र ज्याकेट लगाएको छ । तलको भागमा कपडा छैन । टाउको भने अझै फेला परेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ । 

मृतकको अझैसम्म पहिचान भने नखुलेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेर अनुसन्धान थालेको छ । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!