असारदेखि विदेश जानेलाई तालिम अनिवार्य, कुन तालिम लिन कति शुल्क लाग्छ ?

Posted on: 16 May, 2019

जेठ २, काठमाडौँ | वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो ।

सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै विभागले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको बताएको छ ।

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिने बताइएको छ ।

तालिम सञ्चालनका संस्थापक वा एकजना संचालक कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको र सम्बन्धित तालिमको विषयमा कम्तीमा एक वर्ष अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ ।

सूचीकृत संस्थाले नियमावलीले तोके बमोजिमको धरौटी र अनुमति दस्तुर विभागमा बुझाउनुपर्नेछ । एउटा तालिम प्रदायक संस्थालाई एक स्थानीय तहमा बढिमा पाँचवटा विषयमा तालिम संचालनको लागि अनुमति दिईने छ ।

बिभिन्न ८ तालिम शिर्षकमा तालिम दिन सकिने र त्यसको कर सहित कति लिन पाउने भन्ने समेत तोकिएको छ । सचिवालयको गत माघ १३ गतेको निर्णय अनुसार हाउस पेन्टिंग, प्लम्बर, कुक, सेक्युरिटी गार्ड, मेसन, वेटर तथा वेट्रेस, स्टिल फिक्चर्स र हाउस किपिङ गरि ८ विधामा तालिम दिईने छ जसको पाठ्यक्रम समेत बनिसकेको छ ।

कुन तालिम लिन कति शुल्क ? (भ्याट सहित)  

१. हाउस पेन्टिंग - रु. १२,२४९ रुपयाँ २० पैसा 

२. प्लम्बर - रु. १३,२४९ रुपयाँ ८० पैसा 

३. कुक - रु. १४,४९६ रुपयाँ २१ पैसा 

४. सेक्युरिटी गार्ड - रु. १२,२९७ रुपयाँ ४९ पैसा 

५. मेसन - रु. १२,०२७ रुपयाँ ४९ पैसा 

६. वेटर तथा वेट्रेस - रु. १२,६१६ रुपयाँ ११ पैसा 

७. स्टिल फिक्चर्स - रु. १३,१४७ रुपयाँ ५५ पैसा 

८. हाउस किपिङ - रु. १२,०२९ रुपयाँ ७० पैसा 

बैदेशिक रोजगारी सम्बन्धि सम्पूर्ण जानकारी लिन 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!