बबरमहलमा पठाओ मोटरसाइकल दुर्घटना हुँदा कलाकार सन्ध्या खड्का घाइते

Posted on: 05 Jan, 2023

पुस २१, काठमाडौँ | कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । 


अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उपचार गराइरहेकी कलाकार खड्काले पनि टेलिफोनमार्फत कुरा गर्दै स्वास्थ्यमा केही सुधार भएको बताइन् । खड्काले फिल्म सोच, रुमालै छ चिनो, नदेखिएको जातमा अभिनय गरेकी छन् । टेलिफिल्म उल्टो सुल्टो, नारी, सन्ध्या, ठिक्कै छ, परिवार, टुहुरी, बुहारीमा अभिनय गरेकी छन् । यसबाहेक म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!