मृत्युभन्दा १० दिनअघि डराउँदै आमालाई के भनेकी थिइन् तुनिशाले?

Posted on: 26 Dec, 2022

पुस ११, काठमाडौँ । भारतीय अभिनेत्री तुनिशा शर्माको आत्महत्या प्रकरणमा अभिनेता शीजान मोहम्मद खान पक्राउ परेका छन्। तुनिशाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

तुनिशाको आत्महत्या प्रकरणमा उनका काकाले अर्को खुलासा गरेका छन्। १० दिन पहिला तुनिशालाई एन्जाइटी अट्याक आएको थियो जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। 

उनका अनुसार तुनिशाले आफूलाई धोका भएको बताएकी थिइन्।


‘तुनिशा र शीजान आफ्नो शो (अली बाबाः दास्तान ए काबुल) को सुरुआतदेखि नै एकअर्कासँग नजिक थिए। १० दिनअघि एन्जाइटी अट्याक आएपछि तुनिशालाई अस्पताल भर्ना गरिएको थियो। उनकी आमा भेट्न गएपछि उनले आफू गलत भएको बताएकी थिइन्। उनले आफूलाई धोका भएको समेत बताएकी थिइन्। उनकी आमाले तिमी सम्बन्ध राख्न चाहन्नौ भने छोडिदेऊ भन्दै सम्झाएकी थिइन्। हामी यति चाहन्छौं कि आरोपीलाई सजाय होस्,’ उनले भने।

शीजानविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरिएको छ। 

शनिबार सुटिङ सेटमै तुनिशाले आत्महत्या गरेकी थिइन्। भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए। 

प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्। 

चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।

उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ’बार–बार देखो’ र ’दबंग ३’ मा समेत अभिनय गरेकी छन्।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!