विवादमा बलिउड गायक जुबिन नौटियाल

Posted on: 12 Sep, 2022

भदौ २७, काठमाडौँ | बलिउडका प्रसिद्ध गायक जुबिन नौटियाल विवादमा तानिएका छन्। सो विवादका कारण उनको सांगीतिक कार्यक्रमसमेत रद्द भएको छ। सामाजिक सञ्जाल प्रयोगतकर्ता जुबिनविरुद्ध खनिएका छन्। ट्वीटरमा ‘अरेस्ट जुबिन नौटियाल’ ट्रेन्ड भइरहेको छ। त्यस ह्यासट्यागमा हजारौँ मानिसले जुबिनलाई पक्राउ गर्ने माग गरेका छन्।

विवाद हुनुको कारण पनि जुबिनको सांगीतिक कार्यक्रम नै हो। केही दिनअघि उनले आफ्नो ट्वीटर ह्यान्डलमा आगामी कन्सर्टको पोस्टर सेयर गरेका थिए। जसमा आयोजकको नाम ‘जय सिंह’ लेखिएको थियो। त्यही नामका कारण विवाद सुरु भएको हो।


कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार जय सिंह नामको त्यो व्यक्ति एक अपराधी हो। जसको खोजी भारतीय प्रहरीले गरिरहेको छ। कतिपयका अनुसार जय सिंहको वास्तविक नाम रेहान सिद्दिकी हो। जसलाई लागूऔषध तस्करी मामिलामा भारतीय प्रहरीले ३० वर्षयता खोजी गरिरहेको छ। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले जुबिनमाथि देशद्रोहीद्वारा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन लागेको आरोप लगाएका छन्। अपराधीद्वारा आयोजित कार्यक्रममा सहभागी हुनु पनि अपराध रहेको भन्दै जुबिनलाई पक्राउ गर्ने माग सामाजिक सञ्जालमा उठेको हो।

विरोधकै कारण सो सांगीतिक कार्यक्रम रद्द भएको छ। गायकले पनि यसबारे प्रतिक्रिया जनाएका छन्। उनले ट्वीट गर्दै लेखेका छन्, ‘साथी र ट्वीटर परिवार, म आउँदो महिना छायांकनमा व्यस्त हुनेछु। यस्ता अफवाहको वास्ता नगर्नुहोस्। म आफ्नो देशलाई माया गर्छु र तपाईंहरूलाई पनि माया गर्छु।’

जुबिनले नेपाली फिल्म ‘प्रेम गीत ३’को हिन्दी संस्करणका लागि गीत गाएका छन्। फिल्मको ‘कोई ना कोई नाता है’ गीतमा जुबिनको स्वर रहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!