मेरो नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारवाही होस्- नायिका केकी

Posted on: 24 Aug, 2022

भदौ ८, काठमाडौं | नायिका केकी अधिकारीले आफ्नो नाम र कागजपत्र प्रयोग गरेर विदेशमा फिल्म सुटिङको लागि भिसा आवेदन दिएको विषयमा कानुनी उपचार खोज्ने बताएकी छिन्। बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले फिल्म निर्माण टिमविरुद्ध कानुनी प्रक्रियामा जाने बताएकी हुन्।

विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ।


‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो। निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्रको प्रयोग खुलेको हो।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डी ’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’,‘मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहान्छु,’ केकीले भनेकी छिन्।

नर्वेजियन दूतावासले फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि बोर्डसँग फोनमार्फत जानकारी लिएको थियो । तर बोर्डले अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेश गरेको खुलेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!