विवादमा तानिए साउथ सुपरस्टार विजय देवरकोन्डा

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | एजेन्सी | दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’बाट चर्चा कमाएका अभिनेता हुन्, विजय देवरकोन्डा। अहिले उनी आफ्नो नयाँ फिल्म ‘लाइगर’को प्रचारप्रसारमा व्यस्त छन्।

फिल्ममा उनीसँग बलिउड अभिनेत्री अनन्या पाण्डेले काम गरेकी छन्। फिल्मको प्रमोसनमा यी दुई कलाकार लागिपरेका छन्। फिल्म प्रचारका लागि उनीहरू भारतका विभिन्न सहर डुलिरहेका छन्। 

यहीबीच विजय आलोचनाको सिकार हुन पुगेका छन्। पछिल्लो साता हैदराबादमा पत्रकार सम्मेलन गरिरहँदा उनले पत्रकारहरूसँग कुरा गर्दा टेबलमाथि खुट्टा राखेका थिए।


सार्वजनिक ठाउँमा कुराकानी गर्दा यसरी खुट्टा राखेर बस्न नहुने भन्दै उनको आलोचना भइरहेको छ। यही कुराका कारण उनी विवादमा तानिएका छन्। रिसाएका दर्शकले उनको फिल्म ‘बाइकट’ गर्ने मागसमेत गरिरहेका छन्। 

पुरी जगन्नाथको निर्देशनमा बनेको ‘लाइगर’ अगस्त २५ मा रिलिज हुनेछ। यस फिल्मबाट विजयले बलिउडमा पाइला सारेका छन्। ‘स्पोटर्स ड्रामा’  फिल्ममा उनी र अनन्या मुख्य भूमिकामा छन्। विजय बक्सरका भूमिकामा छन् भने फिल्ममा माइक टाइसन अतिथि भूमिकामा देखिनेछन्।

विजयले फिल्मलाई ‘बाइकट’ गर भन्नेहरूलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। ‘जोकोही आफ्नो क्षेत्रमा अगाडि बढ्ने कोसिस गरिरहेको हुन्छ, त्यसलाई पछाडिबाट हमला गरिन्छ,’ उनले सोसल मिडियामा लेखेका छन्, ‘तर हामी लड्छौँ। आफू इमानदार भएपछि आफ्ना र सबैका लागि भलो चिताइन्छ। मान्छेहरूको माया र भगवान्का आशीर्वादले तपाईंको रक्षा गर्छ।’



यस बिषयमा तपाइको प्रतिक्रिया...!