बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर ‘शो-स्टपर’को रुपमा र्‍याम्पमा उत्रिने जनाइएको छ ।


ज्याकलिन यसअघि अभिनेता सलमान खानसँग ‘द ब्याङ टूर’मा प्रस्तुति दिन नेपाल आउने निश्चित थियो । तर पछि उक्त कार्यक्रम नै रद्द भयो । आरबीले ज्याकलिनलाई कति पारिश्रमिक तिरेर नेपाल ल्याएको हो भन्ने खुलाएको छैन । तर, बलिउडका ‘ए लिस्टर’ अभिनेत्रीहरुले देशबाहिर र्‍याम्प शोमा सहभागी हुन ३० लाख हाराहारी पारिश्रमिक लिने गरेको भारतीय मिडियाहरुमा उल्लेख छ ।

सन् २००९ मा फिल्म ‘अलादिन’बाट ज्याकलिनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनलाई सबैभन्दा ठूलो सफलता भने ‘किक’बाट मिल्यो । उनले ‘मर्डर २’, ‘हाउसफुल २’, ‘जुडवा २’, ‘रेस ३’ जस्ता फिल्ममा पनि अभिनय गरिसकेकी छन् । श्रीलङ्काली नागरिक भए पनि उनले बलिउडमा आफ्नो राम्रो उपस्थिति जनाएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!