‘सलार’लाई विश्वभरबाट ४५० करोड, ‘डंकी’ले कमायो २५० करोड

Posted on: 26 Dec, 2023

पुस १०, काठमाडौँ | प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले प्रदर्शनको चौथो दिन क्रिसमस बिदामा भारतीय बक्स अफिसमा ४२ करोड ५० लाख भारु कमाएको छ । योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २५१ करोड ६० लाख पुगेको छ ।

प्रशान्त नील निर्देशित फिल्मले सोमबारको कलेक्सन हेर्दा ‘एनिमल’को कीर्तिमान तोड्ने अपेक्षा थियो । यसको मुख्य कारण फिल्मले पहिलो सोमबार क्रिसमस बिदाको फाइदा पनि पाएको थियो । तर सोमबार ४२.५० करोड कमाए पनि फिल्मले एनिमलको कमाइलाई उछिन्न सकेन । रणवीर स्टारर ‘एनिमल’ले सोमबार बिदा नभए पनि ४३.९६ करोड कमाएको थियो ।

क्रिसमसको दिन ‘सलार’को हिन्दी संस्करणको अकुपेन्सी ३५.१५ प्रतिशत थियो । उत्तर अमेरिकामा यो फिल्मले हालसम्म ६ मिलियन डलरभन्दा बढी कमाइसकेको छ । चार दिनमा विश्वभर ‘सलार’को कमाइ ४५० करोडभन्दा बढी छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले पाँचौं दिन भारतमा २२ करोड ५० लाख भारुको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा अहिलेसम्म ‘डंकी’को कुल कलेक्सन १२८ करोड १३ लाख रुपैयाँ छ । ‘डंकी’ सलारभन्दा एक दिनअघि बिहीबार रिलिज भएको थियो ।

विश्वव्यापी कमाइको कुरा गर्दा ‘डंकी’ले चौथो दिन ५४ करोड भारु कमाएको थियो । कुल चार दिनमा यसको विश्वव्यापी कलेक्सन २११ करोड रुपैयाँ पुगेको थियो । व्यापार विज्ञहरुका अनुसार फिल्मले अहिले विश्वभर २५० करोडको आँकडा पार गरिसकेको छ ।

यसअघि बलिउड व्यापार समीक्षक रोहित जैसवाल, आमिर अन्सारी र रमेश बालाले क्रिसमसमा दुवै फिल्मबाट राम्रो कलेक्सन हुने अपेक्षा गरेका थिए । डंकीले क्रिसमसमा देशमा ३० करोडको व्यापार गर्ने अनुमान गरिएको थियो । साथै सलारबाट पनि राम्रो आम्दानीको अपेक्षा गरिएको थियो । तर क्रिसमसको बिदा भए पनि दुवै फिल्मले त्यति कमाइ गर्न सकेनन् ।

सलार यो वर्ष भारतमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले पहिलो दिन विश्वभर १७८.७ करोड रुपैयाँ भारु कमाएको थियो, जसमध्ये भारतीय बक्स अफिसमा ९० करोड ७० लाख रुपैयाँ कमाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!