‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ ।

विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट कमाइ गरेको छ । भारतीय फिल्म ‘सत्यप्रेमकी कथा’ले दुई दिनमा २५ लाख १७ हजार रुपैयाँ नेट कमाएको छ । यी दुई नेपाली फिल्मको यो अपेक्षाभन्दा निकै न्यून कमाइ हो ।

भारतमा समेत प्रदर्शनमा आएको ‘परस्त्री’ले घरमा चाहिं उत्कृष्ट ओपनिङ गर्न सकेन । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा विजय लामा र दीया पुनको शीर्ष भूमिका छ ।

बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’मा कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका छ । सम्बन्धको कथावस्तु पेश गर्ने यो फिल्मले भारतीय बक्स अफिसमा तीन दिनमा २६.३५ करोड नेट भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!