रोमानिया घटनाबारे प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

Posted on: 30 Jun, 2023

असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए । त्यहाँको प्रहरीमा दिएको उजुरी पनि सपुतकै आग्रहमा फिर्ता लिइयो । क्यान बियरको बोतल प्रहारको उक्त घटनाले विश्वभरका नेपाली समुदायमाझ चर्चा पायो ।

यो घटनाको केही दिनमै गायक सपुतले उक्त घटना र त्यसले पारेको असरबारे औपचारिक प्रतिक्रिया दिएका छन् । उक्त घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको भन्दै सपुतले अहिले मानसिक रुपमा आफू विक्षिप्त भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले मानिसलाई मनोरञ्जन प्रदान गर्न, प्रेम र खुसी बाँड्न कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिको जीवनमा आइपर्ने यस्ता घटना र किस्सा पढ्दै, सुन्दै आएको हो । तर स्वयं आफू चाहि तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’

कोभिडपछि आफूले पटक-पटक यस्तो डर र एन्जाइटीलाई जित्दै आएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको पनि कुरा गरेका छन् । उक्त पोस्टमा उनले रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि प्रस्तुत गरेका छन् । सपुतमाथि बोतल प्रहार भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कूटनीतिक नियोगको ध्यानाकर्षण गराएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!