नेपाली नर्सलाई बेलायतमा रोजगारी, भोलिदेखि औपचारिक वार्ता हुने

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | भोलि शुक्रबारदेखि नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् ।

बेलाय सरकारले एक पत्र पठाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूताबासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् ।

मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार यो टोलीले द्विपक्षीय रुपमा गर्ने छलफलबाट नेपाली नर्सलाई बेलायतमा मिल्ने अवसर र भर्ति प्रक्रियाबारे सबै तय हुनेछन् । ‘यही वार्ता टोलीले आवश्यक छलफल गरेर आवश्यक परेमा समझदारीपत्र (एमओयू)को मस्यौदा पनि तयार गर्नसक्छ,’ उनले भने ।

बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने छ ।

बेलायतले अनौपचारिक छलफलमा आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको थियो । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत अवसर दिन चाहेको बताएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!