वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व चयनको लिखित सहमति

Posted on: 08 Jan, 2022

पुस २४, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे नेतृत्व सहमतिको आधारमा छनोट गर्ने सहमति भएको छ । सहमतिको वातावरण मिलाउन कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित कार्यदलले लगातार तीन दिनको सक्रियतापछि पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय गरेको छ । 

सहमतिको नेतृत्व छनोट गर्ने विषयमा मोडालिटी तय गर्न संघका कार्यवाहक अध्यक्ष तामाङको संयोजकत्वमा मंगलबार १५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सिफारिस गर्ने व्यवसायीलाई अध्यक्षमा निर्विरोध निर्वाचति गर्ने सहमति गरेको कार्यवाहक अध्यक्ष तामाङले जानकारी दिए । कार्यवाहक अध्यक्ष तामाङले अन्य पदमा पनि सहमति जुटेको तर त्यसको आधिकारिक जानकारी आगामी सोमबार मात्र दिने बताए । 

बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार संघमा गरिएको माइन्युट अनुसार संघको २१ सदस्यीय कार्यसमितिमा एसोसिएसनले अध्यक्ष, दई पदाधिकारी र पाँच सदस्य पाएको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रथम उपाध्यक्षसहित तीन सदस्य, वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चले द्वितीय उपाध्यक्ष र दुई सदस्य, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव र तीन सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्ष र एक सदस्य पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!