बेलायतद्वारा १० हजार नेपाली कामदार लैजाने इच्छा, तलब वार्षिक ४५ लाख

Posted on: 23 Nov, 2021

मङ्सिर ७, काठमाडौँ | बेलायतले नेपालीबाट १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज मङ्गलवारको बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको बताएका हुन् । सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट  रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।

उनले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताए । सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताए । सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् ।

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिबद्धता जनाएको बताए । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसकेको सचिव गौतमले बताए ।

वैदेशिक रोजगारको सबै अपडेट 'वैदेशिक रोजगार' एप डाउनलोड गरेर पाउन सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!