तीन पत्रकार श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित

Posted on: 28 Oct, 2021

कात्तिक ११, काठमाडौँ | श्रम रोजगार पत्रकार समूहले श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कृत गरेको छ । समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल) लाई पुरस्कृत गरेको हो । 


श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित पत्रकार अनमोलले रु ३० हजार, भारतीले रु २० हजार र अधिकारीले रु १० हजार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा आयोगका अध्यक्ष मगरले सञ्चारकर्मी मानवअधिकार रक्षकसमेत भएको हुँदा मानवअधिकार हनन्का विषयमा सशक्त ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । आप्रवासी कामदारको पक्षमा आयोगले विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान गर्न सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । 


श्रम मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले सरकार स्वदेशमै रोजगारी सिर्जनामा जुटेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले श्रम गन्तव्यको विविधीकरण गर्नुको विकल्प नरहेको भन्दै वैदेशिक रोजगारीमा गुणात्मक सुधारको खाँचो औँल्याउनुभयो । 

समूहका अध्यक्ष सुनिल न्यौपानेले पत्रकारको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!