आबुधावी डाइलगमा नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

Posted on: 27 Oct, 2021

कात्तिक ११, काठमाडौँ (रासस) | आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको थियो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

आवुधावीमा अन्य कुटनीतिक भेटघाट

आबुधाबी डायलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आवुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । 

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको थियो । साउदी अरेवियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

Photo: UAE Ministry of Human Resources and Emiratisation

यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!