नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्रीको ध्यानाकर्षण

Posted on: 17 Aug, 2021

भदौ १, काठमाडौँ । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गरेको छ । समितिले गृहमन्त्री  खाँणलाई भेटेर मलेसियामा करार अवधि सकेर स्वदेश फर्कन हवाईसेवा नियमित नभएकाले हवाई भाडा अत्यन्तै महंगो पर्न गएको भन्दै नियमित हवाईसेवा संचालनको लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ ।

 नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियामा पनि कोरोना दिनप्रतिदिन फैलिईरहेको कारण  थुप्रै कम्पनीहरु बन्द भैसकेका छन र बन्द हुने क्रममा छन् । एकातिर कोभिङ-१९ को समस्या अर्कोतर्फ नेपालीहरुले रोजगारी गुमाइरहेको अवस्थाले पीडा माथि झन पीडा थपिरहेको समितिले जनाएको छ । 

कोरोना महामारीबाट नियमित हवाई सेवा संचालन नहुँदा मलेसियामा मंगलवार सम्म २४ वटा शवहरु अलपत्र अवस्थामा रहेका छन् । 'परिवारले शव खोजीरहेका छन तर मलेसियामा आउने न्यारोवडी जहाजले शव स्वदेश लैजान नसक्ने हुनाले कम्तीमा पनि मलेसियामा महिनामा दुईपटक सम्म वाईडवडि जहाज पठाउने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौ' गृहमन्त्रीलाई ध्यानाकर्षण गरिएको पत्रमा भनिएको छ ।

'मलेसियामा करीव तीन लाख नेपाली श्रमिकहरु रहेका छन् । उनीहरुलाई विभिन्न कारणले वेलावेलामा समस्या आउने गर्दछ तर उनीहरुले कतैपनि सेल्टर पाउन सकेका छैनन तसर्थ मलेसियामा श्रमिकहरुलाई आफनै सेल्टर हाउस भएको खण्डम उनीहरुले कानुनी न्याय पाउनुको साथै सेल्टरमा बसेर सेवा लिन सक्ने थिए साथै अलपत्र, अगंभग, वेखंची, विरामीहरुक लागि ठुलो राहत मिल्ने थियो त्यसको व्यवस्थाका लागि आवश्यक पहल गरिदिनु हुन समेत अनुरोध गर्दछौ ।' ध्यानाकर्षण पत्रमा भनिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!