कतार गएर पाँच महिना काम गरेको तलब म्यानपावरलाई ! बिभागद्वारा छापा (भिडियो सहित)

Posted on: 11 Apr, 2021

चैत २९, काठमाडौँ | वैदेशिक रोजगार विभागले आज काठमाडौंको बुद्धनगरस्थित रेड कोरल एसोसिएट म्यानपावरमा छापा मारेको छ । पीडितसँग मासिक ९०० रियाल तलब कमाई हुने कामको लागि जान म्यानपावरले चर्को लागत लिंदै गर्दा विभागले छापा मारेको हो ।

अघिल्लो बर्षनै अग्रिम २० हजार लिएर लामो प्रयासमा वैदेशिक रोजगारमा जान लागेका एक युवालाई काठमाडौँको बुद्धनगरमै रहेको म्यानपावरले चर्को लागत मागेको थियो । विदेश गएर पाँच महिनासम्म काम गरेको तलब म्यानपावरलाई लागतकै नाममा बुझाउनुपर्ने भएपछि पीडितले बिभागलाई पूर्वसूचना दिएका थिए । त्यसपछि विभागको टोली उक्त म्यानपावर पिडित युवासंगै पुगेको थियो ।


सरकारले कतार जान न्युनतम १० हजार लागत तोकेको भएपनि आफूले ५०/६० हजार दिन तयार रहँदा पनि म्यानपावरले चर्को लागत लाग्ने भनेपछि उजुरी दिन बिभाग पुगेको पीडित युवाले बताएका छन् । पीडतका अनुसार रेड कोरल एसोसिएट म्यानपावरले उनि सहित अन्य युवाहरुलाई प्रतिव्यक्ति एक लाख ३० हजारभन्दा धेरै लागत लिएको बताएका छन् । उनले भने 'मनपरि हुँदो रहेछ, यही काममा अरु साथीहरुले २ लाखसम्म तिरेका छन् । उनिहरुले कतार गएर ८ महिना म्यानपावरले लिएको लागतकै लागि विदेशी भूमिमा जोतिनुपर्छ ।' 


बिभागले छापा मारेसंगै उजुरीकर्ता युवाले आफूबाट अशुली भएको एक लाख १० हजार रकम फिर्ता पाएका छन् । साथै म्यानपावर मार्फत पीडितले वैदेशिक रोजगारमा जानको लागि आवश्यक पासपोर्ट सहित सम्पूर्ण कागजात प्राप्त गरेका छन् । पीडत युवाका अनुसार उनि आजै वैदेशिक रोजगारको लागि कतार उड्दैछन् । उनले भने 'बिदाको दिन समेत नभनी वैदेशिक रोजगार बिभाग र मिडियाकर्मीहरुले मेरो लागि समय दिएकोमा धन्यवाद !' 

सरकारले २०७२ मा कतार सहित बिभिन्न ७ देशमा जान बढीमा १० हजार लागत मात्र लिन पाउने नीति लिएपनि म्यानपावर व्यवसायीहरुले भने बिरोध गर्दै कम्तिमा एक महिनाको तलब लिन पाउने माग राख्दै आएका छन् । यता व्यवसायीहरुबीच भएको अस्वस्थ प्रतिष्पर्धाको कारण व्यवसायीकै माग अनुसार सरकारले एक महिनाको तलब सेवा-शुल्कको रुपमा लिन दिएपनि चर्को लागतको बेथिति भने नरोकिने स्पष्ट देखिन्छ । केहि डिमाण्डमा सरकारले तोकेकै लागतमा वैदेशिक रोजगारमा जान पाइएको भए पनि अधिकांश डिमाण्डमा वैदेशिक रोजगारमा जाने युवाहरुले अत्याधिक चर्को लागत तिर्न बाध्य भईराखेका छन् । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!