विदेशमा ज्यान गुमाएका एकै दिन १२ श्रमिकको शव स्वदेश

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ  । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो । 

आइतबार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघ बहादुर कुँवर तथा सूर्य विकको रहेको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार मलेसियाबाट आउने गरी क्वालालम्पुर स्थित नेपाली दूतावासबाट सूचि प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यसैबिच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई शव बुझ्न गएका आफन्तहरुसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

नेपाल ल्याइएका शव मध्ये गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि रहेको थियो । उनीहरु भट्टराईको निर्वाचन क्षेत्रका बासिन्दा रहेका कारण परिवारलाई सान्त्वना दिन तथा मृतकलाई श्रद्दाञ्जली दिन भट्टराई विमान स्थल पुगेका हुन् ।


'कस्तो दु:खद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । ती मध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र । ' भट्टराईले ट्विटरमा लेखेका छन् ।

नेपाली श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको मलेसियामा ज्यान गुमाउने श्रमिकहरुको संख्या पनि धेरै रहेको छ । स्वदेशमा रोजगारी नपाएपछि श्रमिकहरु विदेशिन बाध्य छन् । यसरी रोजगारीको क्रममा विदेशमा विभिन्न कारणले ज्यान गुमाउने गरेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!