अवैध रूपमा ओमानमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप

Posted on: 02 Apr, 2021

चैत २०, काठमाडौँ । ओमान सरकारले अवैध रुपमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप गरेको छ । ओमानको श्रम मन्त्रालयले भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा बस्दै आएका विदेशी नागरिकलाई घर फर्कने अवधि थप गर्ने निर्णय गरेको हो । 

विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि ओमानको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि बढाएर ३० जून, २०२१ सम्म कायम गरेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । 

 सरकारले गैर कानूनी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निःशुल्क कानूनी प्रक्रियामा सहभागी गराउने प्रयोजनका लागि पहिलो पटक डिसेम्बर ३१, २०२० सम्ममा दर्ता गर्न सकिने प्रावधानलाई बढाएर मार्च ३१, २०२१ सम्मको म्याद थप गरेको थियो ।

 विश्वव्यापी महामारीका कारण सो प्रक्रियामा केही व्यवधान आएकाले दर्ता प्रक्रियामा सहभागी हुन पाउने अवधिलाई बढाएर ३० जून, २०२१ सम्म कायम गरेको व्यहोरा ओमान स्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा अवैध रूपमा काम गर्दै आएका नेपाली श्रमिकहरुलाई सो अवसरको सदुपयोग गरी निःशुल्क रूपमा कानूनी प्रकृया पूरा गरी नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ । 

उक्त विषयमा थप जानकारीका लागि दूतावासको ७१५९२४९० वा ७१५९२५०६ नम्बरमा सम्पर्क गर्न सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!