महोत्तरी: ऋण तिर्न विदेशिएका पति जब बाकसमा आए...

Posted on: 26 Jul, 2018

साउन १०, बर्दिवास | विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए । 

साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदीअरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो । 

गत जेठ ६ गते सउदीअरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आएर उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । तर पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् । ‘आब कोन आधार स जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन् । 

गरिबी, अभाव र अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि सउदीअरब गएका थिए । गत जेठ ६ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गतमंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजनमात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको छ । 

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् । “हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन् । 

विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा र क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा–४ का वडाध्यक्ष अशोककुमार महतोको भनाइ छ । अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!