युद्धग्रस्त इजरायलमा नेपाली कामदार पठाउन अनलाइन फारम संकलन हुँदै, छ जना युवा कसरी पुगे ?

Posted on: 06 Dec, 2023

मङ्सिर २०, काठमाडौँ । नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको अवस्थामा उस्तै प्रकृतिले अवैधानिक तरिकाले युद्धग्रस्त देश इजरायलमा नेपाली कामदार लैजान खोजिएको पाइएको छ । यसै दौरानमा केहि साता अघि मात्र ६ जना नेपाली अवैधानिक बाटोबाट इजरायल पुगिसकेका छन् । उनिहरु थाईल्याण्डको बाटो हुँदै इजरायल रोजगारको नाममा पुगेका हुन् । 

Photo: AI

इजरायलमा कृषि कामदार माग भएको भन्दै एकाएक फारम भर्ने र मेडिकल भराउने काम समेत भइरहेको पाइएको छ । यस अघि 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत गएका हजारौं नेपालीहरुलाई इजरायलको बिभिन्न कृषि फार्ममा काम गर्न अवसर रहेको भन्दै जानकारी दिएपछि एकअर्को युवाबीच सूचना दिदै युवाहरु माझ यस सम्बन्धमा सक्रियता बढेको छ । केहि एजेन्टहरुले इजरायल रोजगारको मेडिकल गरिदिने भन्दै सामाजिक संजालमै समेत पोष्टहरु सेयर गरिरहेका छन् । 

यसअघि इजरायल गएर केहि महिनाको अध्ययन गरि नेपाल फर्किएकाहरुलाई मात्र यस्तो अवसर आएको भनिए पनि यसलाई आधिकारिकता पुष्टि गर्ने कुनै आधार छैन । तर यसैलाई लिएर सयौंको संख्यामा नेपाली युवाहरुले इजरायल रोजगारमा जान पाउने आशामा आफ्नो सक्रियता बढाईरहेका छन् । यसै सम्बन्धमा वैदेशिक रोजगार बिभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत श्रम स्वीकृति जारी गर्ने कि नगर्ने बिषयमा पहल भएको पाइएको छ । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागमा महानिर्देशक मदन दहालले आफूलाई इजरायल रोजगारको लागि श्रम गर्न पहल भएको जानकारी भएको तर युद्धरत देशमा श्रम गर्न युवाहरु पठाउन जोखिमयुक्त हुने र हालकै अवस्थामा श्रम स्वीकृति जारी गर्न उचित नभएको प्रतिक्रिया दिएको बताए । 

सम्बन्धित निकायले युद्धग्रस्त देश भन्दै श्रम स्वीकृति दिन आनाकानी गरेपछि तेश्रो मुलुकको बाटो हुँदै भएपनि इजरायल जान कोसिस जारी रहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार इजरायल रोजगारमा लैजान इजरायलका कृषकहरु तयार छन् तर नेपालबाट स्वीकृति दिन आनाकानी भएको कारण श्रम स्वीकृतिको लागि हदैसम्मको प्रयास गर्ने नभए भारत तथा तेश्रो मुलुकको बाटो हुँदै भएपनि जाने गरि तयारी भईरहेको छ । यसरी जान चाहनेहरुको संख्या सयौंको संख्यामा भएको बताइएको छ । 

इजरायल कामदार पठाउने सम्बन्धमा नेपालका लागि इजरायली राजदुत हनान गोडरले परराष्ट्र मन्त्रालयसँग कुरा गरेको र परराष्ट्र मन्त्रालयले समेत इजरायल रोजगारमा जान सुरक्षित रहेको भन्दै सम्बन्धित निकायहरुसँग पहल गरेको बिनोद घिमिरे मार्फत जानकारी आएको स्रोतबाट जानकारी प्राप्त भएको छ । बिनोद घिमिरे यसअघि इजरायलको 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत साना किसान कृषि सहकारी संस्था मार्फत पटक-पटक इजरायल गएर आएका व्यक्ति हुन् । उनले तात्कालिन समयमा इजरायलमा 'लर्न एण्ड अर्न' कार्यक्रममा जाने युवाहरुलाई नेतृत्व गरेका थिए । 

इजरायल रोजगारमा पठाउन व्यक्तिगत सक्रियता बढेसँगै कसरी जाने कति पैसा कसलाई बुझाउने भन्ने चासो बढेको र कतिपयले यस सम्बन्धमा आवश्यक खर्च समेत गरिसकेको हुनसक्ने बताइएको छ । यसै सम्बन्धमा केहि व्यक्तिबाट प्राप्त भएको जानकारी अनुसार इजरायल रोजगारको लागि भन्दै हवाई टिकट खर्च बाहेक तीन हजार भन्दा बढी अमेरिकि डलर लागत लाग्न सक्ने जानकारी दिईएको पाइएको छ । उक्त रकम के प्रयोजनको लागि लिने हो भन्नेबारे भने खुलाइएको छैन । 

इजरायल रोजगारमा जान फारम भर्नुपर्ने भन्दै यो लिंकमा https://forms.gle/QbYxXPmmPwekHUp76?fbclid=IwAR3ap3hZ9AkKF24TnEzc9jvGrMvFojQltQgO1QGgiaONQk_iCTzOOidpYkc फारम भराईएको समेत पाइएको छ । नियामानुसार यसरी नेपाल सरकारको स्वीकृति अगावै वैदेशिक रोजगारको लागि भन्दै फारम भराउन, सूचना दिन र बिभिन्न प्रलोभन देखाउन पाइदैन । साथै वैदेशिक रोजगारमा पठाउने कार्यको लागि सम्बन्धित निकायको अनिवार्य स्वीकृति चाहिन्छ । सम्बन्धित निकायले स्वीकृति पाएपछि मात्र वैदेशिक रोजगारको लागि आवश्यक प्रक्रिया सुरु गर्नपर्ने ऐनमा व्यवस्था छ ।  

यसै सम्बन्धमा इरायल रोजगारमा जान भन्दै अवैधानिक फारम कसले भराईरहेको छ भन्ने समेत कसैलाई जानकारी छैन । यो फारम नेपालमा इजरायल कामदार लैजान तयारी गरिरहेका केहि व्यक्तिहरुले वा इजरायल स्थित केहि इजरायलीहरुले भराईरहेको हुन सक्ने बुझिएको छ । यस सम्बन्धमा  सक्रिय  तर इजरायल रोजगारमा जान चाहने कयौंले यो फारम भरिसकेको बताएका छन् । सम्बन्धित फारम अनुसार इजरायल रोजगारमा लैजानको लागि २३ देखि ३९ बर्षको उमेर हुनुपर्ने, इजरायलमा अभिभावक, आफ्नो पति वा पत्नी र बच्चा नभएको हुनुपर्ने, साथै इजरायलमा हाल कार्यरत हुन नहुने, निरोगी, इजरायलको कृषि क्षेत्रमा काम गर्न सक्षम हुनुपर्ने, कृषिमा काम गरेको अनुभवी हुनुपर्ने र साधारण अंग्रेजी बोल्न सक्ने हुनुपर्ने उल्लेख छ । त्यस्तै रोजगारमा जान फारम भर्नेहरुले ३६ महिनाको पासपोर्टको म्याद हुनुपर्ने उल्लेख छ । 

केहि साता अघि नेपालबाट छ जना युवाहरु इजरायल रोजगारमा पुगेको पाइएको छ । उनिहरु भिजिट भिसामा थाईल्याण्ड भएर त्यहाँबाट इजरायल पुगेका हुन् । उनिहरु इजरायल पुगेको कारण अरु नेपाली पनि इजरायल जान पाउने आशामा सक्रिय भएर लागेका छन् । 

उनिहरुले सामाजिक संजालमा यस सम्बन्धमा इजरायल पुगेरै फेसबुक फोटो समेत सार्वजनिक गरेका छन् । उनिहरु मध्ये एकजना नेपालीले आफूहरु इजरायल पुगेको देखाएर दलालहरुले ६ देखि १० लाखसम्म माग गरि इजरायल पठाइदिने भन्दै प्रलोभन देखाईरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । ति व्यक्तिले आफ्नो फेसबुकमा लेखेका छन् 'नेपालमा केही दलालहरुले हामीलाई उनीहरुले नै सहज रूपमा इजरायल पठाएको भन्दै अरु मान्छेहरुसँग ६-१० लाखसम्म माग गरेको सुनिन्छ । त्यस्ता गलत प्रचारको पछि नपर्न सम्पुर्णमा जानकारी गराउन चाहन्छौं। हामीलाई तिनीहरु कसैले पठाएका होइनन् । हाम्रो नाम बेचेर ठगी गर्न खोजेका हुन् तिनिहरुले।  होसियार ।' 

पछिल्लो समय वैदेशिक रोजगार बाध्यता बन्दै गर्दा युवाहरुले जोखिमयुक्त देशमा समेत आफ्नो जिउज्यानको प्रवाह नगरी रोजगारमा होमिने गरेको पाइएको छ । अवैधानिक बाटोबाट रुस पुगी सेनामा भर्ति भएका युवाहरु मारिएका विषय ताजै छन् । त्यसो त इजरायलमा गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूहहरू, मुख्यतया हमास र प्यालेस्टाइन इस्लामिक जिहाद, प्यालेस्टाइनको मुक्तिको लागि समाजवा पपुलर फ्रन्ट फर लइबरेसन अफ जस्ता अन्य समूहहरूसँग गाजा पट्टीबाट इजरायलमा रकेट ब्यारेज र सवारी साधनहरूद्वारा ठुलो आक्रमण सुरु गरेको थियो । त्यस क्रममा १० जना नेपालीको समेत मृत्यु भएको थियो । मृत्य भएका नेपालीहरु कृषिमै अध्यायनको क्रममा पुगेकाहरु थिए । बाँकी घाइते तथा बिद्यार्थीहरुलाई नेपाल सरकारले गत असोज २६ गते आफ्नै जहाज पठाएर उद्दार गरेको थियो । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!