विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने मेयर शाहको चेतावनी

Posted on: 17 Jun, 2023

असार २, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

आइतबार देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भन्ने समाचारको ध्यानाकर्षण भएको बताए छन् । उनले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र  र पठनपाठनमा अवरोध गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।  

उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, त्यहाँ कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनको लागि निर्देशन दिएका छन्। 

काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुने बताएका छन् :

 १) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ। 

२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गर्ने उल्लेख गरेका छन्। 

३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!