बेलायतका लागि नेपाली राजदूत रेग्मी २४ अक्टाेबरमा फिर्ता हुँदै

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन् । सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिअन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी  २४ अक्टोबरमा नेपाल फर्किन लागेका हुन् । 

नेपाल पत्रकार महासंघ युके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको सम्मान  कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’ लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए । पत्रकार महासंघ युके एवं यहाँस्थित नेपाली पत्रकारहरूबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुसी व्यक्त गरे ।

मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वाभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरूबारे पनि समाचार बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ‘बेलायतमा रहेका पत्रकार साथीहरूले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन साँच्चिकै सकारात्मक र तारिफयोग्य छ ।’

शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरिएको हो ।

राजदूत रेग्मीले पत्रकार महासंघ युके शाखाका अध्यक्ष अर्यालसँगै उपाध्यक्षद्बय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्बय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम र सदस्यहरू नगेन्द्र नेम्वाङ, मिलन तमु र बम थापा सूर्यवंशीलाई खादा ओढाएर सम्मान गरे । 

शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्वअध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए ।

दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ युकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससँगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन् । बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रसंशा गरिन् ।

पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरूमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!