असार २८ पछि विदेशबाट उद्धार उडान नहुने, हालसम्म कहाँबाट कति स्वदेश आए ?

Posted on: 09 Jul, 2020

असार २५, काठमाडौँ | जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ । 

असार २८ सम्म नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो भन्ने बारेमा केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नको लागि भन्दै असार २८ पछि उद्धार उडान नहुने बताइएको छ । असर २८ पछि कुनै देशमा उद्धार नगरी नहुने अवस्थाका नागरिकलाई मात्र विशेष अनुमति दिने अन्यथा कुनै पनि अन्तर्राष्ट्रिय चार्टर उडान नगर्ने निर्णय गरिएको छ । असार २८ पछि हालसम्म उद्दार गरि ल्याईएकाहरुको समिक्षा हुने र त्यसपछि उद्दार उडान गर्नुपर्ने आवश्यकता देखिए मात्र सरकारले थप अनुमति दिन सक्ने बताइएको छ । 

जेष्ठ ३२ देखि सरकारले उद्दार उडान सुरु गरे यता नेपाली एयरलाइन्सहरु नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले उद्धार उडानहरु गरेका थिए । 


यो समयमा बिभिन्न देशबाट फ्लाई दुबई, जजिरा एयरवेज, कतार एयरवेज, टर्किस एयरलायन्स आदिले नेपाली यात्रूहरुलाई सेवा दिएका थिए । नेपालीहरुलाई स्वदेश उद्धार उडान गर्ने क्रममा दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारी तथा स्वदेश फिर्ता हुने यात्रूमा समेत कोभिड-१९ संक्रमण देखिएको छ । यसैको समिक्षाको लागि पनि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको बताइएको छ । 

सरकारले जेठ ३२ देखि ६७ उडान तोके पनि उद्दारको क्रममा बुधबारसम्म १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं ल्याइएको छ । यो क्रममा कुवेतबाट सबैभन्दा बढी नेपालीलाई स्वदेश ल्याइएको छ । कुवेतबाट मात्र  ४ हजार ७ सय, यूएईबाट ४ हजार १ सय, साउदी अरेबियाबाट ३ हजार २ सय, कतारबाट २ हजार ७ सय, मेलेसियाबाट २ हजार ४ सय, बहराइनबाट ५ सय गरी कुल २२ वटा देशबाट समस्यामा परेका नेपालीहरुलाई सम्बन्धित देशमा रहेको दुतावासको सहकार्यमा स्वदेश फिर्ता गराइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!