धान र सुन्तला उत्पादनमा दश प्रतिशत बृद्धि हुने

Posted on: 22 Oct, 2016

कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । धान रोप्ने समयमा प्राप्त मात्रमा पानी पर्नु,  सिचाई र अनुकुल मौसमका कारण धान उत्पादनमा बृद्धि हुने उनको तर्क छ । आजको सहारान्यूज दैनिकमा खबर छ ।


    धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाई र पछिल्लो समयसम्म निरन्तर परेको बर्षाका कारण उत्पादन बढ्ने देखिएको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।  बर्षामा मौसमले साथ दियो अब हिउँदमा धान काट्ने र थन्काउने समयमा पनि मौसमले साथ दियो भने यस बर्ष धान उत्पादन राम्रो हुने रेग्मीको तर्क छ ।


    पर्वतका  देविस्थान, कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास देउपुर, बनौ  लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ । करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती हुदै     आइरहेको छ ।
    सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धानको रोपाइ हुने कृषि कार्यालयले जनाएको छ जसमध्ये जिल्लामा ६० प्रतिशत स्थानीय जातको र ४० प्रतिशत उन्नतजातको खेती हुदै आएको छ ।

जिल्लामा यस बर्ष सुन्तला उत्पादनमा पनि दश प्रतिशतले  बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!