नेकपा बहुमतका नाममा चन्दा मागेको आरोपमा पक्राउ परेका परियार एमालेबाट निष्कासन

Posted on: 11 Aug, 2023

साउन २६, सल्यान | नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि मात्र नेकपा एमाले त्रिवेणी गाउँपालिकाको अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिवेणी गाउँपालिका – ९ फालाबाङका ३३ वर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

आरोपी परियारले पत्र, फोन र एसएमएस मार्फत विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्कीहरू दिँदै आएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न ब्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ । “

हेर्नुहोस विज्ञप्ति:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!