सुन बरामद प्रकरण: भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी

Posted on: 20 Jul, 2023

साउन ४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भएको छ ।

प्रारम्भिक चरणमा एक अर्बभन्दा बढी मूल्य बराबरको सुन जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

पौडेलका अनुसार यसबारे तत्काल निर्णय गर्ने तयारी छ । यसका लागि अहिले आन्तरिक छानबिन भईरहेको छ । जाँच पासमा संलग्न सबै कर्मचारीलाई सकभर केहीबेरमै निलम्बन गरिनेछ ।

विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । 

विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ । 

गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ । 

यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । 

तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् । उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । तर भन्सार जाँचपासको कार्यमा कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नता रहँदैन ।

हिजो (बुधबार) एक अर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन समेत थालेको छ ।

यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुन जोख्न आज राष्ट्र बैंक लैजाने तयारी गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!