उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ ?

Posted on: 01 Feb, 2017


म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । 

यसको प्रत्यक्ष असर मेरो र उनको सम्बन्धमा परेको छ । यही कारणले होला, उनको एक जना पुरुषसँग यौनसम्बन्ध पनि हुँदै आएको कुरा थाहा पाएको छु । हिजोआज हाम्रो दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले आउँछ वा अन्य कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ । मलाई के भएको हो र यसको समाधान के छ ?

तपाईंले अप्ठ्यारो परिस्थिति भनेर संकेत गर्न खोज्नुभएको कुरा के हो ? यी मनोविज्ञानसँग सम्बन्धित विषय हुन् र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ । तपाईंको विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्व प्रमुख कारकका रूपमा देखिन्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । तपाईंलाई आफ्नी श्रीमतीप्रतिको शंका वा विश्वास नभएको र मायालाई सम्मान नगरेको महसुस भएको हुन सक्छ ।

कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राखेको खुलासाले एक–अर्काप्रतिको आत्मीयतामा कमी आउँछ र त्यसको सीधै असर यौनसम्बन्धमा पर्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोच मनमा आउँछन् । 

यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको छ र तपाईंलाई यौनसन्तुष्टि प्राप्त गर्नमा समस्या भएको हुन सक्छ । त्यसैले तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न जरुरी हुन्छ । 

यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरमा वा भनौं बुढ्यौलीमा पनि सम्भव छ ।

फरक यति मात्र हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् । सबैभन्दा महत्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट सेक्सको अभिन्न पक्ष हो । 

उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । तपाईंकी श्रीमतीले अर्को व्यक्तिसँगको यौनजीवनलाई अघि बढाउँदै हुनुहन्छ भने त्यसले तपार्इंको जीवनमा थप समस्या पैदा गर्छ । 

तपाईंले तेस्री श्रीमतीका रूपमा स्वीकार गरे पनि सामाजिक रुपमा उहाँको स्वीकार्यता छ कि छैन, त्यसले पनि यौनसम्बन्धमा असर पारेको हुन सक्छ । अर्को कुरा, तपाईंका पहिलेका श्रीमतीहरूसँगको यौनसम्बन्ध कस्तो थियो भन्ने कुरामा पनि तुलना गर्न पुगिरहनु पो भएको छ कि ? महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक–फरक हुन्छ र फरक किसिमले त्यसलाई रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा हार्मोनमा आएको परिवर्तन हो । 

उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो ।

पुरुषमा पनि हर्माोन परिवर्तन हुन्छ, टेस्टोस्टेरोन हार्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक–अर्कालाइ बुझ्न, भावनात्मक कुरा महसुस गर्न र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ ।

सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन् । तपाईंको विवाह अप्ठ्यारो परिस्थितिमा भएको भए पनि थप अप्ठ्यारो सिर्जना नगर्न एक–अर्कासँग खुलेर कुरा गर्नु आवश्यक हुन्छ । साप्ताहिकबाट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!