सीजीले सुरु गर्‍यो ९९९ रुपैयाँमै १२० एमबीपीएसको इन्टरनेट सेवा, कहाँ कहाँ छ उपलब्ध ?

Posted on: 01 Jun, 2021

जेठ १८, काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने बताएको छ । भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवाको फाइदा उठाउन सक्नेछन् ।

१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ ।

नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ । सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!