१२ कक्षामा पढ्ने विद्यार्थीले ह्याक गरे त्रिविको वेबसाइट

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक गर्ने व्यक्ति कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ ।

मङ्गलवार राति ह्याक भएको उक्त वेबसाइट रिडाइरेक्ट भएर रोहित रोकाया नामको फेसबुक अकाउन्टमा पुगिरहेको थियो । यस्तोमा कसैले साइटलाई जानीजानी रोहितको अकाउन्टमा रिडाइरेक्ट गरेको हो कि भन्ने आशंका थियो ।


तर, त्यसको केही समयपछि नै उक्त अकाउन्टबाट साइट ह्याक गरेको भन्ने पोस्ट अपलोड भयो । उक्त पोस्टमा लेखिएको छ, “हिजोदेखि टीयूले अनलाइन सेवा सुरु गरेसँगै यसले टीयूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ । यसले गर्दा टीयूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ ।”

सो पोस्टमा अगाडि लेखिएको छ, “अब टीयूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसैले टीयूले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी छ ।”

उक्त पोस्टमा ह्याक गर्नु अवैध र अनैतिक भएको समेत उल्लेख छ । उनले अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न नसक्ने पनि उल्लेख गरेका छन् ।

यस्तो पोस्ट देखेपछि धेरैले उनको अकाउन्ट ह्याक भएको हो कि भन्ने आशंका व्यक्त गरे । हामीले रुकुम पश्चिमस्थित चौरहजारी नगरपालिकामा फिल्ड असिस्टेन्टका रूपमा कार्यरत उनका बुबालाई सम्पर्क गर्‍यौं ।

“मेरो छोरा ललितपुरको सीसीआरसी कलेजमा कक्षा १२ मा पढ्छ,” उनका बुबाले भने, “साइबर सुरक्षामा त्रिविको वेबसाइट कत्तिको सुरक्षित छ भन्ने जाँच्न उसैले ट्राई गरेको हो । सबै डेटा सुरक्षित छन् ।”

लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले त्रिविले यसलाई सुरक्षित बनाउनुपर्ने भन्दै छोराले ह्याक गरेको उनका बुबाले सुनाए । उनले अगाडि भने, “छोरोसँग बिहान कुरा भएको थियो । मैले परीक्षण गर्नका लागि ह्याक गरेको हुँ भनेको छ । सबै डेटा सुरक्षित छ भनेको छ ।”

अहिले पनि त्रिविको कन्भोकेसनको साइट रिडाइरेक्ट भएर रोहित रोकायाकै फेसबुक अकाउन्टमा गइरहेको छ । हामीले उनको नम्बरमा सम्पर्क गर्न खोजेका थियौं । तर, उनको फोन उठेन ।

यस विषयमा थप बुझ्न हामीले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी)मा सम्पर्क गर्दा कलेज स्रोतले कक्षा १२ मा विज्ञान सङ्कायमा रोहित रोकाया नाम गरेका विद्यार्थी रहेको पुष्टि गरेकाे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!