नेपालमा टिकटक बन्द हुँदा त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | नेपाल सरकारले चर्चित शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अप्रत्याशित रूपमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको हाे ।

योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ ।


सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाउँछ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा नेपालमा अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न सक्दैनन् ।

छिमेकी देश भारतले सन् २०२० मा  राष्ट्रिय सुरक्षा र गोपनीयताको कुरा उठाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । यसमा भिडिओहरू, कमेन्टहरू, डाइरेक्ट म्यासेज लगायत समावेश थिए । टिकटकले भारतीय अकाउन्टहरूसँग सम्बन्धित सबै प्रयोगकर्ताको डेटा पनि हटाएको थियो ।

यसको मतलब भारतीय टिकटक प्रयोगकर्ताहरूले आफ्ना सबै सामग्री र डेटामा पहुँच गुमाए । यद्यपि, केही प्रयोगकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि आफ्नो सामग्री डाउनलोड गर्न भ्याएका थिए । अरुले भीपीएन वा अन्य विकल्पमार्फत आफ्ना सामग्रीमाथि पहुँच गरे ।

यसकारण नेपालमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लागे यस प्लेटफर्मले आफ्नो सर्भरमा रहेका सामग्री हटाउन सक्ने भएकाले त्यस्ता सामग्रीको ब्याकअप डाउनलोड गर्नु नै उचित हुन्छ । यसरी तपाईंले आफ्नो सामग्री सुरक्षित गर्न सक्नुका साथै आवश्यक भएमा यसलाई अन्य प्लेटफर्महरूमा पुन: पोस्ट गर्न सक्नुहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!