वैज्ञानिकको नयाँ चमत्कार ! अन्तरिक्षमा उत्पादित बिजुली पृथ्वीमा पठाइयो

Posted on: 11 Jun, 2023

एजेन्सी | पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ ।

तर अब पृथ्वीमा मात्र होइन अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरुले पहिलो पटक एक किरण वा तरंगको माध्यमबाट सौर्य ऊर्जालाई अन्तरिक्षबाट पृथ्वीमा पठाउन सफल भएका छन् । अन्तरिक्षबाट पृथ्वीमा यस प्रकारले सौर्य ऊर्जा पठाएसँगै नयाँ मार्ग प्रसस्त हुन सक्दछ । यो प्रयोगमा वैज्ञानिकहरुले स्याटेलाइटबाट प्राप्त सौर्यउर्जालाई पृथ्वीमा पठाएर त्यसलाई बिजुलीमा परिणत गरेका छन् ।


अन्तरिक्षबाट प्राप्त सौर्य ऊर्जाको तरंगलाई पृथ्वीमा रहेको ल्याबको संकलक यन्त्रले जम्मा गरेर विद्युतमा परिणत गरिदिएको थियो । यसलाई माइक्रोवेब एरे भनिन्छ । माइक्रोवेब एरेको प्रयोग ऊर्जा प्रसारणका लागि गरिन्छ । यो वायरलेस प्रविधिका माध्यमबाट मानिसहरुले कुराकानी गरेजस्तै हो । ठ्याक्कै यहीँ तरिकाबाट तारविना नै ऊर्जालाई एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ । जलविद्युत ऊर्जा, कोइला वा अन्य स्रोतबाट ऊर्जा उत्पादनको सम्भावना नभएका विकट ठाउँहरुमा समेत भविष्यमा बिजुली आपूर्ति गर्नका लागि यो प्रविधि वरदान सावित हुने दाबी गरिएको छ ।

विश्वमा हाल सर्वाधिक विद्युत उत्पादनमा सौर्य ऊर्जाभन्दा अगाडि जलविद्युत र वायु ऊर्जा रहेका छन् र सौर्य ऊर्जाको ३.६ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ । आगामी दिनमा यी तीनवटै तरिकाबाट बिजुली उत्पादन गर्न झनै सहज हुने बताइएको छ । वैज्ञानिकहरुका अनुसार यी तीन तरिकाबाट हुने विद्युत उत्पादन आगामी सन् २०३५ सम्ममा ४० प्रतिशत र सन् २०५० सम्ममा ४५ प्रतिशतले बढ्नेछ । यसरी भविष्यमा ९० प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन हुने र त्यसको आधा हिस्सा सौर्य ऊर्जाले ओगट्ने बताइन्छ । सौर्य ऊर्जा हासिल भैरहने मुख्य कारण भनेको यसको निरन्तरता हो । जबसम्म सूर्यको प्रकाश हुन्छ, तबसम्म सौर्य ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ ।

वायरलेस प्रविधिबाट पृथ्वीमा पठाइयो बिजुली

वैज्ञानिकहरुले दशकौंसम्म अन्तरिक्षमा आधारित सौर्य ऊर्जा प्रविधिको विषयमा अनुसन्धान गर्दै आएका छन् । पृथ्वीको कक्षमा रहेका उपग्रहहरुले कुनै अवरोध विना नै २४ सै घण्टा तथा ३६५ दिन नै सौर्य ऊर्जा संकलन गर्न पाउँछन् ।अन्तरिक्ष सौर्यउर्जा योजना (एसपीपी) लागू गर्नका लागि शोधकर्ताहरुले नयाँ प्रविधिको रुपमा वायरलेस पावर ट्रान्सफर तयार गरे । उक्त परियोजनाको नाम माइक्रोवेब एरे फर पावर ट्रान्सफर लो अर्बिट एक्सपेरिमेन्ट (MAPLE) हो । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका इलेक्ट्रोनिकल तथा मेडिकल इन्जिनियरिंग विभागका प्राध्यापक अली हाजिमिरीले उक्त परियोजनाको नेतृत्व गरिरहेका छन् ।

यो हो नयाँ प्रविधि र प्लाटर्फम, जसबाट बिजुली आयो

मेपल प्लाटर्फम लचिलो तथा हलुका माइक्रोवेब ट्रान्समिटर हो । त्यसभित्र कस्टम इलेक्ट्रोनिक चिप्स राखिएका हुन्छन् । यसलाई सस्तो सिलिकन प्रविधिबाट बनाइएको हुन्छ ताकि धेरै भन्दा धेरै सौर्य ऊर्जा पैदा गरेर त्यसलाई तरंगको माध्यमबाट पृथ्वीमा पठाउन सकियोस् । सोही प्रकारले अन्तरिक्षको सौर्य ऊर्जालाई तरंग मार्फत् पृथ्वीमा पठाइयो ।

एसएसपीपी सन् २०११ मै सुरु भएको थियो । क्यालटेक बोर्ड अफ ट्रस्टिजका सदस्य डोनाल्ड ब्रेनले एसबीएसपी अनुसन्धान परियोजना निर्माणका विषयमा चर्चा गर्नका लागि क्यालटेकका तत्कालीन अध्यक्ष जीन लूचाम्यूसँग सम्पर्क गरेसँगै परियोजनाको सुरुवात भएको थियो ।

हलुका संरचनायुक्त वायरलेस पावर ट्रान्सर्फमरको उपयोग गरी अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जालाई पृथ्वीमा विद्युत उत्पादनका लागि पठाउने यो प्रविधि पृथ्वीको ऊर्जा माग पूर्तिको दिशामा कोशेढुंगा सावित हुनेछ ।

युद्ध र विपत्तिमा ऊर्जाको आपूर्ति

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक ऊर्जा आपूर्ति गर्नका लागि अन्तरिक्षमा यसअघि नै सोलार प्यानलहरु जडान गरेर बिजुली निकाल्ने गरिएको छ । जसरी इन्टरनेटले आम मानिसमा सूचना सम्प्रेषणको कार्यलाई सहज बनाएको छ, त्यसैगरी उर्जालाई समेत आम उपभोक्तामाझ आपूर्ति गर्नका लागि वायरलेस प्रविधिले निकै महत्वपूर्ण सावित हुनेछ ।

यो बिजुली प्राप्त गर्नका लागि पृथ्वीमा ऊर्जा प्रशारणका लागि ट्रान्समिसन लाइन जस्ता कुनै आधारभूत संरचनाहरुको आवश्यकता पर्नेछैन ।

यसबाट युद्ध वा प्राकृतिक विपत्तिको बेलामा समेत जुनसुकै ठाउँमा ऊर्जाको आपूर्ति गर्न सकिेनछ । ऊर्जाको भण्डारण तथा प्रशारण अहिलेको समयमा निकै चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा यो प्रविधि भविष्यका लागि आम रुपान्तरणकारी हुने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!