विश्वकप फाइनल पुनः खेलाउन फ्रान्सेली समर्थकले राखे माग, लगभग २ लाख हस्ताक्षर संकलन

Posted on: 23 Dec, 2022

पुस ८, काठमाडौँ | फूटबल विश्वकपको फाइनल खेल पुनः खेलाउनुपर्ने मागसहित फ्रान्सेली समर्थकहरूले १ लाख ९५ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेका छन् । 

फाइनलमा रेफ्रीले अनेकौं गल्ती गरेको भन्दै उनीहरूले यो खेल पुनः खेलाउनुपर्ने माग गरेका हुन् । 

फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबरीमा रहेपछि पेनाल्टी शूटआउट गराउनुपरेको थियो । 


खेल हारेपछि फ्रान्सका समर्थकहरूले अन्लाइन निवेदन वेबसाइट मेसओपिनियन्समा आफ्नो नाम चढाएका छन् । अर्जेन्टिनाले दुईपटक गोल गर्दा रेफ्रीलाई धोका दिइएको उनीहरूको भनाइ छ । 

फ्रान्सका उस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डी मारियालाई बक्स एरियामा लडाएपछि लियोनल मेसीले पेनाल्टीमा गोल गरेका थिए । तर फ्रान्स समर्थकहरू त्यो पेनाल्टी दिन नमिल्ने बताउँछन् किनकि दुई खेलाडीबीचको कन्ट्याक्ट एकदमै हलुका मात्र भएको थियो । डी मारिया खासै केही नभइकनै डी बक्समा लडेको उनीहरूको तर्क छ । 

त्यस्तै अर्जेन्टिनाको दोस्रो गोल पनि समस्याग्रस्त रहेको निवेदकहरूको भनाइ छ । क्रिस्टियन रोमेरोले मैदानको एक छेउमा किलियन एम्बाप्पेलाई लडाएको उनीहरूले दाबी गरेका छन् । 

त्यसपछि अर्जेन्टिनाले गरेको काउन्टर अट्याकका कारण बल मैदानको अर्को कुनामा पुगेको थियो अनि डी मारियाले गोल गरेका थिए । 

पोल्यान्डका रेफ्री सिजमन मार्सिनियाकले फाइनलको दबाब खेप्दै राम्रो खेल खेलाएको भनी प्रशंसा गरिएको छ । तर फ्रान्सेलीहरू रेफ्री पूरै बिकेको आरोप लगाइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!