रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

Posted on: 05 Dec, 2022

मङ्सिर १९, काठमाडौँ | कतारमा जारी फिफा विश्वकपमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गर्यो। फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँच पटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्। 

सन् २०१८ को विश्वकपबाट डेब्यु गरेका २३ वर्षे एम्बाप्पेले गत राति दुई गोल गर्दा विश्वकपमा कुल गोल संख्या ९ पुर्याएका छन्। उता रोनाल्डोले पाँचवटा संस्करणमा गरी ८ गोल गरेका छन्। २३ वर्षकै उमेरमा विश्वकपमा ९ गोल गर्ने एम्बाप्पे डिएगो म्याराडोना, रोनाल्डो नाजारियो, लियोनेल मेस्सी, क्लोसा जस्ता खेलाडीहरु भन्दा धेरै विश्वकपमा गोल गर्ने अनुमान गर्न थालिएको छ। उनले डेब्यु विश्वकपमा चार गोल गरेका थिए भने यसपटकको विश्वकपमा पाँच गोल गरिसकेका छन्।मेस्सीले पनि शनिबार राउण्ड अफ १६ मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपमा क्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका थिए। शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ। 

यस प्रतियोगितामा पाँच गोल गर्दै एम्बाप्पे गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि आएका छन्। उनीपछि मेस्सी, रास्फोर्ड, भ्यालेन्सियाको तीन तीन गोल रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!